जर्मनीमाl बस्ने एक १६ वर्षीय किशोरीको हर्कत र हुलिया डरलाग्दो हुँदै गएको थियो । न उनी खुलेर हास्थे, न निर्धक्क रुन्थे । अनुहारमा अनौठो भाव थियो । अचम्मलाग्दो त के भने, उनको बोलीमा अरूकै अलग-अलग स्वर सुनिन थालेको थियो ।
उनको चालढाल अस्वाभाविक हुँदै गएपछि सुरुमा त चिकित्सकलाई देखाइयो । स्वास्थ्य परीक्षण गरियो । रिपोर्टमा कुनै खराबी देखिएन । त्यसपछि चर्चका पादरीलाई घरमा बोलाइयो । जसै पादरी प्रवेश गरे, किशोरीले भुइँमा पिसाब फेरेर त्यसलाई चाटिरहेकी छिन् । अनि कोइला र कीरा चपाइरहेकी छिन् ।
पादरीले ठम्याए, ‘यी किशोरीमा प्रेतात्मा चढेको छ ।’
अब उनलाई साङ्लोले बाँधियो । अलग्गै कोठामा राखेर उनको आवाज रेकर्ड गरियो । खानापानी दिन छाडियो । प्रेतलाई तह लगाउन भनी पादरीले झारफुक गर्न थाले । तै बिसेक भएन । आखिर सन् १९७६ जून ३० मा उनले प्राण त्यागिन् ।
मृत्युपछि पोस्टमार्टम गरियो । सो रिपोर्टले उनको मृत्यु कुपोषण वा खानापानी नपुगेका कारणले भयो । किशोरीको नाम थियो, एनालिस मिशेल । खासमा उनलाई ‘टोम्पोरल लोब एपिलेप्सी’ थियो, जुन दिमागी बिमार हो ।
यो एक यस्तो तमासा थियो, जहाँ शारीरिक रूपले असामान्य मान्छेहरुलाई ‘हाँसोको पात्र’ बनाइन्थ्यो । एकदमै अग्ला, एकदमै होचा, एकदमै दुब्ला, एकदमै मोटा, दुई वटा टाउको जोडिएका, अनुहारभरि रौं पलाएका, हात-खुट्टा बिग्रिएका, नाक–आँखा विकृत भएका मान्छेलाई ‘प्रकृतिका राक्षस’ भनिन्थ्यो ।
ती अबोध मान्छेहरुलाई फलामे खोरमा थुनेर मेलाहरुमा लगिन्थ्यो र प्रदर्शनीमा राखिन्थ्यो । शरीरमा कुनै खोट लिएर जन्मेका बच्चालाई फगत मनोरञ्जनको वस्तु मानिन्थ्यो । २०औं शताब्दीको प्रारम्भतिर यस्तो सर्कस उत्कर्षमा थियो ।
एडवर्क मोर्डेक एक यस्ता व्यक्ति, जसको टाउकोमा दुईवटा अनुहार थियो । पछाडिको अनुहार त्यति सक्रिय त थिएन तर दिनसम्म दुःख दिने खालको थियो ।
राति एडवर्क निदाउने यत्न गरिरहेका हुन्थे, पछाडिको अनुहारले केही ‘फासफुस’ साउती गरिरहन्थ्यो । उनी कहिल्यै आरामसाथ निदाउन पाउँदैनथे । जब एडवर्क हाँस्न खोज्थे, अर्को अनुहार रोइदिन्थ्यो । उनी आफ्नै अनुहारदेखि आजित भए र २३ वर्षको उमेरमा आत्महत्या गरे ।
एडवर्क मोर्डेकको बारेमा सोधीखोजी गर्ने हो भने अनगिन्ती फोटो–सामग्री पाइन्छ । उनकै जीवनलाई लिएर फिल्म समेत बनेको छ । जबकि समाचार एजेन्सी ‘रोयटर्स’को तथ्य जाँचमा के पाइयो भने, यी व्यक्ति कहिल्यै जन्मिएका थिएनन् । यो केवल किंवदन्ती थियो ।
सत्य चाहिं के भने, एक यस्तो दुर्लभ मनरोग हुन्छ जसमा मान्छेलाई आफ्नो दुई अलग-अलग व्यक्तित्व महसुस हुन्छ । आफूभित्र अर्को पनि मान्छे वा व्यक्तित्व छ भन्ने लागिरहन्छ । यसलाई मेडिकल भाषामा ‘डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डर’ भनिन्छ ।
यी तीन फरक प्रसंग हुन् । तर यसको केन्द्रमा एउटै कुरा छ-अज्ञानता र अन्धविश्वास ।
अज्ञानताले भ्रम पैदा गर्छ । भ्रमले अन्धविश्वास । अन्धविश्वासले भय । भयले घृणा । र, घृणाले विभेद । यही चक्रीय मनोविकारको साझा उत्पादन हो, बोक्सी पनि ।
बोक्सी बग्रेल्ती हुन्छ किन बोक्सा हुँदैन ? बोक्सी किन धनीमानी हुँदैन ? बोक्सी किन रूपवती हुँदैन ? बोक्सी किन खानदानी हुँदैन ? किनभने समाजको एउटा यस्तो आनुवंशिक संरचना छ, जहाँ निमुखा र निसहायलाई सधैं हेलाहोचो गरिन्छ । चाहे त्यो १९औं शताब्दीमा देखाइने ‘फ्रिक शो’ हुन् वा एआईको युगमा विद्यमान ‘बोक्सी’, यी हेलाहोचोकै अतृप्त अवशेष हुन् ।